टावर खरि तथा निर्माणमा ६ करोड भ्रष्टाचार, अख्तियारमा पर्यो उजुरी

काठमाडौं । खरिद तथा निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

दूरसञ्चारका १५२ वटा टावर खरिद तथा निर्माणमा भ्रष्टाचार भएको भन्दै आयोगमा उजुरी परेको हो ।

नेपाल टेलिकमले आफ्नो नेटवर्क विस्तारका लागि १३ फेब्रुअरी २०२३ मा बोलपत्र आह्वान गरेको थियो।

बोलपत्रउपर ,मैनावति स्टिल इन्डस्ट्रिज भगवति स्टील इण्ड्रस्टीज र भारतको उत्सर्ग इन्डियासमेत ३ वटा कम्पनीले प्रस्ताव पेस गरेकोमा मैनावतिसँग मिलोमतो गरी करोडौँ घुस लिएर टेन्डर दिइएको आरोप लगाउँदै टेलिकमका न्यून वैतनिकका कर्मचारीले अख्तियारमा उजुरी दिएका हुन्।

निवेदकका लागि विभिन्न भ्रष्टाचारजन्य कार्य भएको आरोप लगाउँदै उनीहरूले कारवाहीको माग गरेका छन्।

यस्ता छन् आरोप :

१) कम्पनीको आर्थिक विनियममा भएको व्यवस्थाअनुसार प्रबन्धक अनुप रेग्मीको संयोजकत्वमा पहिलो बोलपत्र मूल्यांकन समिति गठन भएको।

२) उक्त मूल्यांकन समितिले बोलपत्रहरूको प्राविधिक मूल्यांकन गरी २ वटा बोलपत्र दाताहरू (मैनावति र भगवति स्टिल्स) लाई प्राविधिक रूपमा योग्य ठहर गरी आर्थिक प्रस्ताव खोल्ने आवश्यक प्रक्रिया अगाडि बढाउनको लागि निर्णय हुन मूल्यांकन प्रतिवेदनसहित टिप्पणी फाइल केन्द्रीय कार्यालय समक्ष पेश गरेको।

३) उक्त फाइललाई निर्णय प्रक्रियामा अल्झाएर, प्रबन्ध निर्देशक सुनिल पौडेल र प्रबन्धक देवेन्द्र खतिवडाले पटकपटक मूल्यांकन समितिका संयोजक अनुप रेग्मी र प्रमुख प्राविधिक अधिकृत संगीता पहाडीलाई उक्त मूल्यांकन प्रतिवेदन सच्चाएर मैनावति कम्पनीलाई मात्र प्राविधिक रूपमा योग्य ठहराएर पुनः फाइल पेश गर्न निर्देशन दिएका। स्मरण रहोस प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य बिदामा भएको समयमा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी नाप्रनि संगीता पहाडीलाई तोकिएको थियो।

४) मूल्यांकन प्रतिवेदन सच्याएर पुनः फाइल पेश गर्न मूल्यांकन समिति र प्रमुख प्राविधिक अधिकृतले कानुनी र प्रचलित व्यवस्था तथा खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धाको मान्यता बिपरित हुने भन्दै नमाने पश्चात नाप्रनि संगीता पहाडी काम विशेषले सिंगापुर गएको बेलामा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी प्रबन्धक देवेन्द्र खतिवडालाई दिएर उक्त फाइलउपर चलखेल सुरु गरिएको।

५) नेपाल टेलिकमको प्रचलन अनुसार, ११ तहको नाप्रनि भएको अवस्थामा अहिलेसम्म १० तहको प्रबन्धकलाई प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी दिइने गरेको छैन। यहीँनेर बदनियत स्पष्ट रूपमा देखिन्छ।

६) प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी पाउनासाथ प्रबन्धक देवेन्द्र खतिवडाले आर्थिक रूपमा बदनामी कमाएका र आफूहरूले भनेको मान्ने व्यक्ति प्रबन्धक सोभन अधिकारी र उप(प्रबन्धक सुजित आनन्द मल्ललाइ राखेर कम्पनिको आर्थिक विनियम, सार्वजनिक खरिद ऐन कुनैमा पनि व्यवस्था नभएको अवस्थामा शुरुको मूल्यांकन समितिले दिएको प्रतिवेदनउपर कारवाही रोकेर नयाँ र दोस्रो मूल्यांकन समिति गठन गरे।

७) उक्त मूल्यांकन समितिले प्रबन्ध निर्देशक पौडेल र प्रबन्धक खतिवडाको निर्देशनबमोजिम मैनावति कम्पनीलाई मात्र योग्य ठहर गरी प्रतिवेदन बुझाएको र सोहीअनुसार निर्णय प्रक्रिया अगाडि बढाइएको छ।

८) यस प्रपञ्चको लागि प्रबन्धक खतिवडा, प्रनि को कार्यालयका उपप्रबन्धक चिन्मय आनन्द र प्रबन्ध निर्देशकले टोकन स्वरूप रु १ करोड रूपया लिई सकेको र पछि करिब ५ करोड रूपैया मैनावतिमार्फत् घुस लिने डिल भएको बुझिन आएकोछ।

९) मूल्यांकन समितिमा रहेका सोभन अधिकारी तिनै व्यक्ति हुन्, जसले अफिसमा नक्कली हवाई बिल पेस गरेर अनुचित रकम लिएर घोटाला गर्थे भने चिन्मय आनन्द भुक्तानीका फाइल रोकी पैसा बार्गेनिङ गर्ने साथै विभिन्न बहानामा भेण्डरहरूसँग पैसा मागेर अनुचित लाभ लिने व्यक्ति हुन यस्ता व्यक्तिहरूलाइ मूल्यांकन समितिमा राखेर ठूलो आर्थिक अनियमितता गर्ने प्रबन्ध निर्देशक सुनिल पौडेलको योजना तुरुन्त रोकी निष्पक्ष मूल्यांकन गराई पाऊँ।

१०) तसर्थ तहाँ सम्मानित आयोगबाट दुबै प्रतिवेदनहरू, मूल्यांकन कमिटी गठन गर्ने निर्णयका सक्कल फाइलसमेत नियन्त्रणमा लिई दोषीउपर तत्काल कारबाही अगाडि बढाउन सादर अनुरोध गर्दछौं।