ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको राजीनामा मागेपछि…

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधसम्बनधी मुद्दा दर्ता भएको भन्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकको अन्तिममा सभामुखसँग समय लिएर राप्रपा सचेतक शाहीले युद्ध अपराधमा मुद्दा दर्ता भएपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

पार्टी अध्यक्ष या व्यक्तिले गरेको अपराधमा देशको प्रधानमन्त्री मुछिन नमिल्ने उनको जिकिर छ । ‘प्रधानमन्त्री संसदको सदस्य पनि हो । उहाँविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्चले ३० गते अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ,’ उनले भने, ‘म सोध्न चाहन्छु ३० गते अदालतमा जाँदै गर्दा उहाँ यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ की पुष्पकमल दाहाल प्रचण्ड भएर रु उहाँले तत्काल राजीनामा दिएर बाटो प्रसस्त गर्नुपर्छ । नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन ।’

दश वर्षसम्म चलेको सशस्त्र युद्धको समयमा बालसेना प्रयोगगरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । यसअघि अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रवार दिएको आदेशअनुसार आज (आइतवार) रिट दर्ता भएको हो ।