पटक-पटक म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेन गोरखकाली मन्दिरको

काठमाडौं ।  प्रसिद्ध गोरखकाली मन्दिर प्रवलीकरणको काम पटक पटक म्याद थपिँदा पनि अझै बन्न सकेको छैन । ढिलासुस्तीका कारण निर्धारित समयमा काम सम्पन्न नगरेको ठेकेदारले थप भएको म्याद गुज्रिँदा पनि काम सम्पन्न गर्न नसकेकोले लामो समयदेखि अलपत्र परेको छ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त गोरखकाली मन्दिर प्रवलिकरण गर्न एसरआरआर जेभी कम्पनीले २०७८ साल साउन १५ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार २०७९ साल असार १५ गते काम सक्नुपर्ने थियो। निर्धारित समयमा निर्धारित काम सम्पन्न नभएपछि पुरातत्व बिभागले चैत्र मसान्तसम्म म्याद थप गरेको थियो। थप भएको समय गुज्रिसक्दा पनि काम भने अझै १० प्रतिशत भन्दा धेरै बाँकी रहेको दरबार हेरचाह अड्डाले जनाएको छ।

ठेकेदारको लापरवाहीका कारण पटक पटक थप भएको समयमा पनि काम सम्पन्न हुन नसकेको हो। थप म्याद सकिएपनि काम भने नरोकिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ। करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको कार्यालय प्रमुख हरि भुसालले बताए। ‘छाना छाउने काम मात्र बाँकी छ’,भुसालले भने, ‘त्यो काम सकेपछि भक्तजनका लागि खुल्ला गर्छौं।’

एक करोड ९५ लाख रुपैयाँ लागतमा कालिका मन्दिर प्रबलिकरणको काम सुरु भएको हो। उक्त रकमले धसिएको मन्दिरको पश्चिम र पश्चिम–दक्षिणतर्फको गारो मजबुद बनाउने काम भएको कार्यालयले जनाएको छ। त्यस्तै टेका लगाएर गारो मिलाउने र कोठाका पुराना फलेकहरु फेरेर नयाँ राख्ने काम समेत भएको बताइएको छ।