महानगरले नियन्त्रणमा लियो सरकारी जग्गा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा नियन्त्रणमा लिएको छ । महानगरपालिकाले वडा नम्बर २९ को वडा कार्यालय बनाउने भन्दै डोजर लगाएर सरकारी जग्गा खाली गराएर नियन्त्रणमा लिएको हो । महानगरको उक्त कदमप्रति भने स्थानीयहरूले विरोध जनाएका छन् ।

सरकारी जग्गा अतिक्रमण हुनबाट रोकेर संरक्षण गर्दै स्थानीयले खेल्ने ठाउँ बनाएको स्थानमा महानगरले जबरजस्ती हस्तक्षेप गरेको उनीहरूको भनाइ छ । उनीहरूले सोहि स्थान नजिकै रहेको अन्य दुईवटा सरकारी जग्गामा वडा कार्यालय बनाउन सुझाव दिएका छन् भने वडा नम्बर २९ ले भने स्थानीयले खेल्ने स्थानमा नै कार्यालय बनाउने तयारी गरेको छ ।

सोहि अनुरुप वडा कार्यालय बनाउनका लागि सरकारी जग्गा खाली गराएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए। उनले सार्वजनिक जग्गा केहि व्यक्तिहरुले अतिक्रमण गरेर बसेकाले नै अतिक्रमित भाग डोजर लगाएर हटाइएको बताए ।

वडा कार्यालय निर्माण गर्ने विषयमा यसअघि कांग्रेस क्षेत्र नंवर १ का सांसद प्रकाशमान सिंह सहित बसेको सर्वपक्षीय छलफल पनि निष्कर्षबिहीन भएको थियो ।