अहिलेको बजेट समाजवाद उन्मुख छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिलेको बजेट समाजवाद उन्मुख रहेको बताएका छन् । हरेक नागरिकलाई समृद्धिको पहुँचमा पुर्‍याउने सरकारको लक्ष्य रहेको उनले बताए ।

बजेटमाथि सांसद्हरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभामा जवाफ दिँदै अर्थ मन्त्री महतले बजेट समाजवाद उन्मुख रहेको भन्दै नागरिकलाई समृद्धिको पहुँचमा पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका हुन् ।

महतले भने, ‘समाजवाद उन्मुख बजेट छ । संविधानमा जे व्यवस्था छ ,त्यही स्प्रीटलाई बजेटले टेकेको छ । आर्थिक वृद्धिको पहुँचमा आम नागरिकलाई पुर्‍याउने सरकारको लक्ष्य हो । पूर्वाधारको क्षेत्रमा सरकारले लगानी गरिरहेको छ । हाम्रो लक्ष्य भनेको हरेक नागरिकलाई समृद्धिको पहुँचमा पुर्‍याउने नै हो । ’

नेपालका उद्योगहरूलाई संरक्षण गर्ने गरि बजेट आएको अर्थमन्त्रीको दावी छ। डा.महतले भने,‘उपभोक्ता,उत्पादकलाई मध्येनजर गरेनै बजेट आएको हो । आन्तरिक उत्पादकलाई संरक्षण गर्न बजेट ल्याइएको छ । उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको नीति छ । हाम्रा उद्योग व्यवसाय फस्टाओस् भन्ने सरकारको उद्देश्य हो ।’

अर्थमन्त्री महतले बजेटको आकार घटेको बताए । महतले भने,‘ऋण,ब्याज तिर्नुपर्ने दायित्व बढेका कारण नयाँ आर्थिक वर्षको बजेट घटेको हो । पुँजीगत खर्चलाई प्रभावकारी बनाउने यो पटकको लक्ष्य हो । ’