कुकुरले बनायो विश्व कीर्तिमान, त्यो पनि खुत्रुकेमा सिक्का हालेर

काठमाडौं । अहिलेको समयमा गिनिज बुकमा नाम लेखाउनका लागि मानिसहरुले मात्र होइन जनावरहरुले समेत अनेक खालका अपत्यारिला कार्यहरु गर्ने गर्दछन् । एउटा बेलायती कुकुरले पनि यस्तै अपत्यारिलो कार्य गरेर गिनिज बुकमा नाम लेखाएको छ ।

बेलायतको एबरडीनमा एउटा कुकुरले एक मिनेटमा २३ वटा सिक्का खुत्रुकेमा हालेर विश्व कीर्तिमान कायम गरेको छ ।

गिनिज बुकमा नाम लेखाएको दुई वर्षीय कुकुरको नाम लियो हो । कुकुरधनी एमिली एन्डरसनले त्यसलाई जन्मैदेखि नै तालिम दिँदै आएकी थिइन् । अन्ततः त्यसले विश्व रेकर्ड कायम गर्दै तालिमको प्रतिफल दियो ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का लागि खुत्रुकेमा सिक्का हाल्ने क्रममा एमिलीले सिक्का समाएर उसको अगाडि राखिदिने र कुकुरले त्यसलाई टिपेर खुत्रुकेमा हाल्ने काम भएको थियो ।

एमिलीले इन्स्टाग्राममा लियोको एउटा तस्वीर शेयर गरेकी छिन् जसमा ऊ विश्व कीर्तिमानवाला प्रमाणपत्र र खुत्रुकेसँगै देखिन्छ ।

तस्वीरको क्याप्सनमा लेखिएको छ– लियोसँग शेयर गर्नका लागि एउटा निकै विशेष खबर छ । अब उसले आधिकारिक रुपमा गिनिज वर्ल्ड रेकर्डस् हासिल गरेको छ । उसले एक मिनेटमा आफ्नो खुत्रुकेमा २३ वटा सिक्का छिराएको छ । जसको कारण यो सम्भव भयो सबैलाई धन्यवाद । यसका लागि व्यापक रुपमा कागजी प्रक्रिया र प्रमाणहरुको आवश्यकता थियो ।