काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । उजुरीकर्ताहरूसँगको छलफलपछि बिहीबार कार्कीलाई बोलाउने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइका लागि प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई बोलाउने निर्णय गरेको हो । उजुरीकर्ताहरूको छलफलबीच भएको विवादका कारण अवरोध सिर्जना हुने भएपछि समितिले केही उजुरीकर्ताहरूसँग मात्रै छलफल गरेको थियो ।
बैठकमा उजुरीकर्तामध्येका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ‚ जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई‚ अधिवक्ता अमृत खरेल‚ उजुरीकर्ता रतन भण्डारीलगायतले सुनुवाइ समितिको बैठक बहिस्कार गरेका थिए । सुरुमा सामूहिक रुपमा बैठकमा सहभागी हुन पाउनुपर्ने माग राखेका उजुरीकर्ताहरूले पछि समितिको वैधतामाथि प्रश्न उठाएका थिए । उजुरीकर्ताहरूसँग कसरी छलफल गर्ने भन्ने विषयमा विवाद हुँदा उनीहरू बाहिरिएका थिए ।
बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका हुन् ।
सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । कार्कीको बिहीबार संसदीय सुनुवाइ हुने तयारी भइरहँदा समितिले बुधबार उजुरीकर्ताहरूलाई छलफलमा बोलाएको हो ।
कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको ती उजुरीकर्ताको आरोप छ । अर्का उजुरीकर्ताले कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुन अभावको अवस्थामा भएकाले सिफारिस खारेज गर्न माग गरेका छन् ।
Add Comment