विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनुपर्छ : महासचिव चापागाईं  

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन एकजुट हुन आह्वान गरेका छन् ।
उनले भने, “सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन सबैको सहकार्य र एकता आवश्यक छ । विपद् पूर्वगतिविधि र विपद् पूर्वजानकारीले समुदायलाई सुरक्षित बनाउन सहयोग गर्छ ।”
मङ्गलबारदेखि सुरु भएको तीनदिने पूर्वानुमानसम्बन्धी सातौँ एसिया–प्रशान्त महासागर क्षेत्रीय संवाद मञ्चको बैठकलाई  भिडियो सम्बोधन गर्दै  महासचिव चापागाईंले जलवायु परिवर्तनले हुन सक्ने विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनु पर्ने बताए । उनले भने, “पूर्वानुमानमा आधारित पूर्वकार्यलाई आइएफआरसीले एक सय ९१ देशमा कार्यान्वयनमा गरिराखेको छ ।”
सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले प्रकोप हुनुपूर्वका तयारीले समुदायलाई उत्थानशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “ जलवायु परिवर्तनले उत्पन्न गर्न सक्ने एवम् प्राकृतिक रुपमा हुन सक्ने विपद्को जोखिमलाई न्यूनीकरण गर्न आवश्यक नीति सुधारमा प्राधिकरणले जोड दिएको छ ।”
नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले पूर्वानुमानमा आधारित पूर्वकार्यलाई सुदृढ बनाउन सकिएमा विपद्बाट हुन सक्ने क्षतिलाई कम गर्न सकिने बताउदै “विपद्पूर्व, विपद्का समय तथा विपद् पछिका अवस्थामा नेपाल रेडक्रसले मानवीय सेवाका गतिविधि गरिराखेको बताए ।”
कार्यक्रममा  पूर्वानुमान केन्द्रका प्रमुख कारा सियोहानले पूर्वानुमानसम्बन्धी क्रियाकलापले सङ्कटासन्न समुदायको उत्थानमा सहयोग हुने विश्वास व्यक्त गरे। सो अवसरमा आइएफआरसीले सगरमाथ आरोही मिङ्मार शेर्पालाई सम्मान गरेको थियो । आरोही शेर्पाको सो सम्मान उनका श्रीमती नाम्गेल डोमा शेर्पाले ग्रहण गरेका थिए ।
सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी शेर्पाले यही जेठ २ गते  विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झन्डा फहराएका थिए । सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झन्डा हस्तान्तरण गरेको थियो । सोहीअनुरूप उनले आरोहणपश्चात् रेडक्रसको झन्डा फहराएको  जनाइएको छ ।
एसिया–प्रशान्त महासागर क्षेत्रमा पूर्वानुमानसम्बन्धी क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने ध्येयले आयोजित सो  पूर्वानुमानसम्बन्धी सातौँ एसिया–प्रशान्तमहासागर क्षेत्रीय संवाद मञ्चमा  मानवीय सेवामा काम गरिराखेका, वैज्ञानिक, विपद् विशेषज्ञ तथा सरकारी प्रतिनिधिको सहभागिता रहेको छ ।