निस्सासिएर २ जना खानी मजदुरको मृत्यु, ३५ बेहोस

काठमाडौँ । अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर २ जना खानी मजदुरको मृत्यु भएको छ । घटनमा अन्य ३५ जना बेहोस भएका छन् । साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो ।

उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा–ए–सुफ बालाका गभर्नर मोहम्मद नसिम खैबरसेकानले बताएका छन् । सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन् । बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा निस्सासिएर एकजना मजदुरको मृत्यु भएको थियो भने अर्का एकजना बेहोस भएका थिए ।