विभिन्न हातहतियारसहित २ जना पक्राउ 

काठमाडौँ ।  विभिन्न हातहतियारसहित २ जना पक्राउ  परेका छन् । बुधबार राति प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका घर भएका ३२ वर्षीय रमेश बानियालाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थान र खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नेर्पा बस्ने २१ वर्षीय शशी राईलाई पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बानिया काठमाडौं महानगरपालिका जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बानियाले बोकेको झोला सडकमा फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेला पारेको थियो । साथै प्रहरीले बानियालाई खोजी गर्ने क्रममा भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी  शशी राईलाई भरुवा बन्दुक २ थानसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।