बजेटले खेलाडीहरुलाई निराश बनाएको छ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सरकारले ल्याएको बजेटले खेलाडीहरुलाई निराश बनाएको बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले यस्तो बताएकी हुन् । सीमित स्रोत साधान भएपनि अन्तर्राष्ट्रिय स्तरबाट मेडल ल्याउन सफल हुने खेलाडीहरुलाई राज्यले सम्मान र प्रोत्साहन गर्नुपर्ने ठाउँमा बजेटले निराश बनाएको पनि उनले बताइन् ।

उनले भनिन्, ‘अन्तराष्ट्रिय खेलकुद आयोजनातर्फ विभिन्न दलका नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनुदान दिइएको छ । मदन भण्डारीलाई ५० लाख, गणेशमान सिंहलाई ५० लाख, साहनाप्रधान स्मृति प्रतियोगितालाई ७ लाख, गिरिजाप्रसाद कोईराला पुरुष हकीलाई ७ लाख भन्दै बाँडिएका रकमहरु उचित लेखा परीक्षण हुने गरेको छैन । र खर्चको पारदर्शितामा हरेक पटक निरन्तर रुपमा प्रश्न उठेको छ । दलका नेताको नाममा राजनीतिक आवद्धता बढाउने यस्ता खालका कार्यक्रमहरुलाई किन र के का लागि प्रोत्साहन गरिन्छ ?’

सांसद कार्कीले युवा तथा खेलकुद मन्त्रालयको बजेटलाई हेर्दा बजेटको नाममा ठट्टा गरिरहेके जस्तो देखिएको बताए । उनले अन्तरराष्ट्रिय जगतमा नै ठूलो महत्व राख्ने यस्तो खेलकुदप्रति सरकार किन उदासिन देखिएको भन्दै प्रश्न पनि गरेकी छन् ।

उनले भनिन्, ‘हामी बजेटको नाममा यहाँ ठट्टा गरिरहेका छौँ, युवा तथा खेलकुद मन्त्रालयको बजेटले त्यही देखाउँछ, यसको पहिलो शीर्षकले नै व्यङ्ग्य गरेको छ , १५ लाख पुँजीगत खर्च हुने मन्त्रालयको स्थागत चालु खर्च ६ करोड ९ लाख छ साच्चै ठट्टा गरेको जस्तो छैन् त ? बजेटको शीर्षक ३४, ३४ १०, ११ अन्तरगत १९ औं एसियन खेलको लागि ६ करोड ४० लाखर १४ औं दक्षिण एसियाली खेलकुदका लागि जम्मा २५ लाख सहभागिता तथा तयारी खर्च भनेर छुट्याइएको छ । अन्तर्राष्ट्रिय जगतमा नै निकै ठूलो महत्व राख्ने यस्तो खेलकुदप्रति सरकार किन उदासिन देखिएको छ ?’