पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षमा पूर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दुईजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले २ साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिएको छ ।

टंककुमार गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छाड्न भनिएको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत बाँकी १६ जनालाई जगन्नाथदेवल पठाउन आदेशमा भनिएको छ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो ।

२०७९ चैत १२ मा गिरोहका नाइके केशव दुलाल‚ सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका थिए ।