‘नयाँ पुस्तालाई कला र संस्कृति बुझाउनु आवश्यक छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्तालाई नेपालको कला, संस्कृति र मौलिकताबारे बुझाउनु अनिवार्य भएको बताइन् ।

चलचित्र विकास बोर्डले दाङको घोराहीमा आयोजना गरेको राष्ट्रिय बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उनले नयाँ पुस्तालाई देश चिनाउने अभियान व्यापक बनाउनुपर्ने बताइएकी हुन् ।

चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ मानिसको दिल बदल्ने आधार भएकाले यसको माध्यमबाट नयाँ पुस्तालाई देश चिनाउन सकिने मन्त्री शर्माको भनाइ छ।

नेपाल संस्कृतिको धनी देश भएकाले यहाँको कला संस्कृतिको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा उनको जोड छ। मन्त्री शर्माले संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न चलचित्रको महत्त्वपूर्ण भूमिका हुने बताइन् ।

उनले भनिन्, ‘‘चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ। चलचित्रले दर्शकलाई मात्र मनोरञ्जन दिँदैन, यस क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेका लागि पनि चलचित्र महत्वपूर्ण क्षेत्र हो। चलचित्र क्षेत्रबाटै कयौं कलाकारले आफ्नो व्यक्तित्व निकै उचो बनाउँदै आएका छन्। उज्वल भविष्यको मीठो परिकल्पना गर्ने उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न पनि यो महोत्सवबाट टेवा पुग्ने छ।’’

बालबालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरी उनीहरुलाई रचनात्मक र सिर्जनशील कार्यमा प्रेरित गर्न बालबालिका, उनीहरुका अभिभावक लगायत आम नागरिकलाई सचेत र जागरुक बनाउन जरुरी रहेको उनको भनाइ छ।

मन्त्री शर्माले भनिन, ‘‘सूचना प्रविधिको माध्यमबाट बालबालिकाले नयाँ ज्ञान र सीप चाँडो प्राप्त गर्छन्, यो उनीहरुका लागि अवसर हो। तर, यसको दुरुपयोग बढ्दै जाँदा बाल विकासको बाधक पनि सूचना प्रविधि नै हुने हो कि भन्ने खतरा बढ्दै गएको छ। अहिले धेरै बालबालिका मोबाइल र कम्प्युटरको लतमा फस्दै गएको गुनासो अभिभावकबाट आउने गरेको छ। बालबालिकालाई सूचना प्रविधिबाट अलग गर्न सकिँदैन तर उनीहरुलाई यसको दुरुपयोगबाट बचाउँदै उपयोगी ज्ञान र सीप सिकाउनु आवश्यक छ।’’

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटनमा स्थानीय कला संस्कृति झल्काउने प्रस्तुति देखाइएको थियो।