राष्ट्रपति पौडेल अढाई महिनामै ५ पटक अस्पताल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अढाई महिनामै पाँच पटक अस्पताल भर्ना भएका छन् । अल्सर, ढाड दुख्ने र छातीसम्बन्धी समस्याबाट मुक्त नहुँदै ७९ वर्षीय राष्ट्रपति पौडेललाई पछिल्लो पटक मुटुको समस्या देखिएको छ ।

स्वास्थ्य समस्या देखिएपछि उनले अत्यावश्यकबाहेक भेटघाट बन्द गरेका थिए । दुई दिनअघि मात्रै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका उनी शनिबार बिहान दुई बजेतिर अस्पताल भर्ना भएका हुन् ।

राति पिसाब फेर्न निस्कँदा असहज भएपछि राष्ट्रपतिलाई तत्कालै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट उनलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयूमा राखेर उपचार गराइएको छ । स्वास्थ्य परीक्षणपछि अस्पतालद्वारा जारी विज्ञप्तिमा उनको पछिल्लो अवस्था स्थिर रहेको उल्लेख छ । छातीको बीचभागमा असहज भएपछि राष्ट्रपतिलाई गत मंगलबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुर्‍याइएको थियो । त्यहाँ मुटुको धमनीमा हुने

ब्लक र संकुचन पत्ता लगाउन एनजियोग्राफी गरिएको थियो । मुटुको दाहिनेपट्टिको भाग ‘ब्लक’ देखिएपछि एन्जियोप्लास्टी गरेर स्टेन्ट राखिएको थियो । उच्च स्रोतका अनुसार त्यसबेला एन्जियोप्लास्टी गरेर स्टेन्ट लगाउने वा नलगाउनेबारे गंगालालका चिकित्सकबीच एकमत देखिएको थिएन ।

मुटुको रक्तनलीमा धेरै अवरोध नरहेकाले स्टेन्टको आवश्यकता नरहेको केही चिकित्सकको दाबी थियो । ‘उहाँलाई हृदयाघात भएको थिएन, जाँचका क्रममा सिटिएन्जियो गरेपछि ब्लकेजको शंका देखियो,’ एक चिकित्सकले भने, ‘त्यसपछि एन्जियो गरेर स्टेन्ट हालिएको हो ।’

मंगलबार गंगालालमा भर्ना भएर भोलिपल्ट डिस्चार्ज भएका राष्ट्रपति पौडेललाई पुनः मुटुमा समस्या देखिएको हो । मनमोहन सेन्टरका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले मुटुको चालको ‘मनिटरिङ’ आवश्यक भएकाले भर्ना गर्नुपरेको बताए । ‘मुटुको चाल तलमाथि भइरहेकाले निगरानीमा राखिएको छ,’ सेन्टरका अर्का एक विशेषज्ञ चिकित्सकले भने, ‘मुटुको चालसहित अन्य अवस्थाको २४ घण्टा नियमित अनुगमनपछि ईसीजीको रिपोर्ट हेरेर आइतबार निष्कर्षमा पुग्नेछौं ।’ पारिवारिक स्रोतका अनुसार अझै दुई–तीन दिन अस्पतालमै राखेर मुटुको मनिटरिङ गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । ‘सबै परीक्षण सामान्य छन् । जाउलो, दाल, सुप, लस्सी खाइरहनुभएको छ । सामान्य अवस्थामा कुराकानी गर्न सक्नुहुन्छ,’ पारिवारिक स्रोतले भन्यो, ‘बाहिरबाट हेर्दा भने अवस्था सामान्य नै देखिन्छ ।’

फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएयता पौडेल पटक–पटक स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका छन् । पहिलोपल्ट पेट दुखेर चैत १८ मा शिक्षण अस्पताल भर्ना भएका उनी २२ गते डिस्चार्ज भएका हुन् । त्यतिबेलाको परीक्षणमा उनको छातीमा पानी जमेको देखिएको थियो ।

वैशाख ४ गते दोस्रोपल्ट छातीमै संक्रमण भएर उनी शिक्षण अस्पताल पुगेका थिए । परीक्षण गर्दा छातीमा जमेको पानी नहटेकाले ५ गते पुनः अस्पताल भर्ना गरिएको थियो । उनको छातीको तल्लो भागबाट भिडियो एक्सरेको सहायताले पानी निकालिएको थियो । छातीमा जमेको पानीको संक्रमण कम नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान सुझाएका थिए ।

वैशाख ६ गते एयर एम्बुलेन्सबाट थप उपचारका लागि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनलाई भर्ना गरिएको थियो । १० दिनको अस्पताल बसाइपछि वैशाख १७ गते उनी स्वेदश फर्केका थिए । छातीको संक्रमण ठीक भए पनि उनका पछिल्लो पटक मुटुमा समस्या देखिएको छ ।

स्वास्थ्य अवस्थाकै कारण वैशाख तेस्रो साता बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा उनी उपस्थित हुन सकेनन् । भारतबाट उपचार गराएर फर्किएपछि राष्ट्रपति पौडेल जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम वाचन गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका थिए । त्यहाँ पनि उनलाई सहयोगीको आवश्यकता परेको थियो ।

चार वर्षअघि उनमा माइल्ड ब्रेन स्ट्रोक देखिएको थियो । २०७६ भदौ ११ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नु केही छिनअघि बिरामी परेपछि बैठक नै स्थगित गरिएको थियो । केही दिन नेपालमै उपचार गरेपछि उनी भारतमा थप उपचारका लागि गएका थिए । त्यसअघि उनमा अल्सरको समस्यासमेत देखिएको थियो । कान्तिपुर