काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएक ३ दिने चेतावनी आज सकिँदैछ । बालेनको चेतावनी पश्चात् पनि चलचित्रबाट विवादित संवाद नहटाइएपछि उनले अब सिधै एक्सन लिने तयारी गरेका छन् । बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्न फिल्म हलहरुमा नगर प्रहरी खटाउने भएका हुन् ।
महानगर स्रोतका अनुसार भोलिबाट काठमाडौंका कुनै पनि हलमा भारतीय चलचित्र चल्न दिइने छैन । काठमाडौंका हलहरुले भारतीय चलचित्रको प्रदर्शन जारी राखेमा हस्तक्षेप गर्ने महानगरको तयारी छ । बालेनले नगरप्रहरीलाई भोलि बिहानैबाट हलहरुमा परिचालन गर्ने योजना बनाएका छन् ।
स्रोतले भन्यो, ‘महानगरको एक्सनमा सरकारले सहयोग र समन्वय गर्ने सम्भावना कम छ । महानगरसँग भएको सुरक्षा निकाय भनेको नगर प्रहरी हो । त्यसलाई नै परिचालन गरेर हिन्दी फिल्म बन्द गराउने छौं ।’
बालेनले आदिपुरुषको विवादित संवाद हटाउन चलचित्र निर्मातासँग पहल गर्नका निम्ति सञ्चार मन्त्रालयलाई पत्राचार समेत गरेका थिए । तर, सञ्चार मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन भने भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन । त्यसैले बालेनले आफ्नै तर्फबाट एक्सन लिने तयारी गरेका हुन् ।
संवाद सच्याउनुका साटो सो चलचित्रका लेखकले आजतकमा अन्तरवार्ता दिँदै नेपाल पहिले भारतकै एउटा हिस्सा रहेको विवादित अभिव्यक्ति दिए । उनले चलचित्रमा आफ्नो तर्फबाट भएको कमजोरी स्वीकार गरेका छैनन् ।
अन्तरवार्तामा उनले भनेका छन्, ‘भारत र नेपाल अलग देश हुन् तर अलग राष्ट्र होइनन् । नेपाल १९०३ सम्म भारतकै हिस्सा थियो । भारतबाट जानकी भारतकै छोरी हुन् ।’
नेपालको सेन्सर बोर्डले सीतालाई भारतकी छोरी भनिएको संवादबाट ‘भारत’ शब्द म्युट गरेर ‘आदिपुरुष’ लाई प्रदर्शनको अनुमति दिएको थियो । अहिले काठमाडौं लगायत देशभरका हलमा आदिपुरुष चलिरहेको छ । तर, पौराणिक कथालाई यो चलचित्रले विद्रुप बनाएको भनेर भारतदेखि नेपालसम्म आलोचना भइरहेको छ ।
Add Comment