आदिपुरुष विवाद प्रकरण : भारतीय कम्पनीले माफी माग्दै बालेनलाई पठायो यस्तो पत्र

काठमाडौं । नेपालमा चलचित्र आदिपुरुष मा समेटिएको सिताको प्रसङ्गलाई लिएर विवाद चर्केपछि भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाउँदै स्पष्टीकरण दिएको छ ।

कम्पनीले इमेलमार्फत पठाएको पत्रमा चलचित्र आदिपुरुषमा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभएर सम्पूर्ण भारतीय नारीहरूको स्वाभीमानलाई प्रतिनिधित्व गरिएको दाबी गरिएको छ ।

यद्पि नेपाली जनताको भावनामा कुनै किसिमले चोट पुगेको भए पत्रमार्फत माफी पनि मागिएको छ । ‘नेपाली जनताको भावनामा कुनै किसिमले चोट पुगेको भए माफी चाहन्छौँ । यो कहिले पनि जानाजानी असमानताको कारण थिएन’, पत्रमा उल्लेख छ ।

कम्पनीका तर्फबाट राधिका दासद्वारा हस्ताक्षरित पत्रमा संसारका सबै महिलाहरूको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको उल्लेख गर्दै आदिपुरुषलाई कलात्मक प्रदर्शनको रूपमा ग्रहण गर्न आग्रह गरिएको छ ।

‘चलचित्रमा श्री राघवको चरित्र निभाउँदै प्रभासले बोलेको संवाद ‘आज मेरे लिए मत लडना, हमारे दिनके लिए लडना जब भारतकी किसी बेटी पर हात डाल्नेसे पहले दुराचारी तुम्हारा पौरुष याद करके थ्रा उठेगा’ मा जन्मस्थानको कुनै सन्दर्भ छैन’ पत्रमा भनिएको छ ।

सीता भारतमा जन्मेकी हुन् भन्ने अर्थ दिनेगरी आदिपुरुषमा राखिएको वाक्यांश चलचित्रबाट नहटाइए काठमाडौंमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन हुन नदिने निर्णय काठमाडौं महानगरपालिकाले गरेको छ । महानगर प्रमुख बालेन्द्र शाहले नेपालमा प्रदर्शन हुने मात्रै नभइ भारतमै प्रदर्शन हुने उक्त चलचित्रबाट सो वाक्यांश हटाइनुपर्ने अडान लिएका छन् ।