सीता नेपालकी चेली होईन भन्दै पूर्वमन्त्रीले गरे बालेनमाथि निम्न स्तरको टिप्पणी

काठमाडौं । । भारतीय फिल्म ‘आदिपुरुष’ माथिको विवादलाई लिएर मधेश प्रदेशका एक पूर्व मन्त्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि आक्रोश पोखेका छन् । उनले सीता नेपालकी चेली नभएको भन्दै निम्न स्तरको टिप्पणीसमेत गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका मधेसका पूर्व पर्यटन राज्यमन्त्री सुरेश मण्डलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-  सीता नेपाली चेली थिएन । त्रेता युगमा वर्तमान नेपालको अस्तित्व पनि थिएन । उनी मिथिलाका राजा जनककी छोरी थिइन् । प्राचीन मिथिला हाल नेपाल र भारत दुबैमा पर्दछ ।

रामायण ग्रन्थका अनुसार सीताको जन्म सितामढी (त्रेतायुगीन मिथिला र हाल भारतको बिहार राज्य) तथा पालन पोषण मात्रै (त्रेताकालीन मिथिलाको राजधानी जनकपुरधाम र हाल नेपालको मधेश प्रदेश) मा भएको उनको दाबी छ ।

मण्डलले मेयर बालेनले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएकोमा पनि आक्रोश पोखेका छन् ।

उनले लेखेका छन्-   काठमाडौंका मेयर बालेन शाहले आफूलाई मधेशी नलिइदिन र खाँटी दरबारिया राष्ट्रवादी साबित गर्न हिन्दी सिनेमा बन्दको नाटक मञ्चन गरिरहेको छ ।