मैले सदनमा कालो झण्डा लिएर उभिनु नपरोस् : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाएका छन् ।

शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमाले सांसद बास्कोटाले बजेटको समन्यायिक वितरण नभएको बताए ।

‘मैले ब्रिफकेस फुटाएको देखेको थिएँ यही सदनमा’, बास्कोटाले भने, ‘म चेतावनीको भाषामा विनम्रतापूर्वक भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिनु नपरोस् ।’

कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर दिएअनुसार अर्थ मन्त्रालयले बजेट राख्दा यस्तो भएको उनले बताए । ‘कसले दियो त्यो चिर्कटो ?’ अर्थमन्त्री डा. प्रकाशशरण महत र शहरी विकासमन्त्री सीता गुरुङलाई उनले भने, ‘प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको उदाहरण पेश गर्दै उनले भने, ‘म तपाईलाई सोध्छु, पनौती नगरपालिकामा १२ वटा वडा छन् । १३ नम्बर वडा कहाँ पर्छ रु १४ नम्बर वडा कहाँ पर्छ रु १५ नम्बर वडा कहाँ पर्छ ?’

नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै उनले असन्तुष्टि जनाए । आफ्नो रिसकै कारण बजेट काटिएको भए कांग्रेस, माओवादी वा अरु हिँड्न अर्को बाटो बनाउँँछ भनेर बास्कोटाले प्रश्न गरे ।