योगलाई आधुनिक शिक्षाको एउटा अंग बनाउनुपर्छ : शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले योगलाई आधुनिक शिक्षाको एउटा अंग बनाउपर्ने बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय योग दिवस २०२३ को सन्दर्भमा कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्री राईले नेपालमा योग अभ्यासको लामो परम्परा भएता पनि वर्तमान समयमा विद्यालय शिक्षा,व्यवसायिक तालिम र उच्च शिक्षामा योगको अभ्यास र साधनाले पर्याप्त स्थान नपाएको बताएका हुन्।

शिक्षामन्त्री राईले मन्त्रालय योगमा आयुर्वेद विश्वविद्यालय सम्बन्धि विकासमा लागिपरेको बताउँदै भने,‘योगलाई आधुनिक शिक्षाको एउटा अंगको रुपमा बनाउनुपर्दछ भन्ने मलाई लाग्दछ। योगमाया आयुर्वेद विश्वविद्यालय सम्बन्धि ऐन पारित भइसकेपछि मन्त्रालय यस विश्वविद्यालय विकासमा लागिपरेको छ।’

उनले भने,‘नेपाल योगको उद्गम भूमि हो। नेपालमा योग अभ्यासको लामो परम्परा छ ता पनि वर्तमान समयमा विद्यालय शिक्षा प्राविधिक शिक्षा र व्यवसायिक तालिम र उच्च शिक्षामा योगको अभ्यास र शिक्षा र साधनाले पर्याप्त स्थाननपाएको महसुस भएको छ।’