हिमालको उचाइ बढेझैं नेपाल र भारतको सम्बन्ध झनझन् बढिराखेको छ : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल-भारतबीचको सम्बन्ध हिमालको उचाइजस्तै दिनदिनै बढिरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाल र भारतको सम्बन्ध थप उचाइमा पुगेको कुरा प्रधानमन्त्रीको पछिल्लो भारत भ्रमणले पुनर्पुष्टी गरेको बताए।

उनले नेपाल र भारतको भूगोल रहेको ठाउँमा चार करोड वर्षपहिले तेसिस महासागर रहेको र त्यो सागर सुकेपछि दुई करोड वर्षअघि नेपाल र भारतको भूगोल तयार भएको बताए।

‘विस्तारै हिमालयहरू बने । अहिले पनि वर्षममा दुई सेन्टिमिटरजति हिमालहरू बढेकै छ,’ उनले भने, ‘हिमालको उचाइ बढेजस्तै नेपाल र भारतबीचको सम्बन्ध पनि झनझन् बढिराखेको छ।’

मन्त्री किरातीले पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न क्षेत्रीय सहरहरूमा उडान भर्न सक्ने सम्भावना रहेको पनि बताए।

‘पोखराबाट पटना, पोखराबाट भारतको चन्डीगढ, गोरखपुर र सिलगढी विमानस्थलहरूमा हामीले उडान भर्न सक्ने र हाम्रो सांस्कृतिक सामाजिक र आर्थिक सम्बन्ध थप उचाइमा जान्छ भन्ने मलाई विश्वास छ,’ उनले भने।