प्रतिनिधि सभा बैठक जारी

काठमाडौं ।  सुदूरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको बैठक पुनः सुचारु भएको छ । यसअघि ११ बजे सुरु भएको प्रतिनिधि सभाको बैठक आधि घण्टाको लागि स्थगित भएको थियो ।

प्रदेशका मन्त्रीलाई संघीय सांसदबराबर सम्मानको सुरुआत गरिएको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन भएमा संघका सांसदसरह सम्मान प्रकट गर्ने निर्णय प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकबाट गरिएको हो ।

जसअनुसार मंगलबार बझाङमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहको दुर्घटनामा परेर मृत्यु भएपछि प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेर बैठक आधि घण्टाको लागि स्थगन गरिएको हो ।

पुनः सुचारु भएको बैठकमा आज पनि विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी छ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल हुँदैछ ।

यी चार मन्त्रालयका बजेट शिर्षकमाथि सांसदहरू सूर्यप्रसाद ढकाल, प्रेम सुवाल, सुमना श्रेष्ठ, महेशकुमार बर्तौला, अमरेशकुमार सिंह, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह, प्रभु साहले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दैछन् ।