कोरोनाको कहर बजार र व्यवसायमा

मकवानपुर । कोरोनाबाट सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मकवानपुरको हेटौँडा बजारमा चहलपहल कम भएको छ । साथै बजार सुनसान छ । यसले व्यापारिक कारोवार समेतमा असर परेको छ । व्यापारिक फर्म, खुद्रा र थोक पसल तथा सहकारी संस्था सञ्चालन भएपनि कारोवार अत्यन्त कम रहेको गुनासो छ । हेटौँडाका व्यवसायी गजेन्द्र चौलागाईंले कोरोनाको त्रास र व्यावसायिक कारोवारको कमीले व्यवसाय चौपट भएको भने । आवश्यक काम नपरेसम्म कोरोनाको त्रासले सर्वसाधारण घरबाहिर जान छोडेका छन् । बजारमा उपभोक्ता तथा स्थानीय सर्वसाधारण सरकारले तोकेको मापदण्डअनुसार मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजर प्रयोगमा जोड दिएको पाइएको छ ।

हेटौँडालगायत आसपासमा कोरोना सङ्क्रमित देखापरेपछि  जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र र बाहिर आवागमनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला जान र अन्य जिल्लाबाट मकवानपुर आउनमा निषेध गरेको छ । सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यस्थापनका लागि एक जिल्लाबाट अर्को जिल्लामा आवागमन बन्द गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए। 

जिल्लाभित्रका उद्योग, कलकारखाना तथा व्यवसायमा जिल्ला बाहिरबाट श्रमिक तथा कामदार मगाउन रोक लगाइएको छ । अन्य जिल्लामा काम गर्न जाने र आउने सरकारी कर्मचारीलाई रोक्का गरिएको छ । बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षाका न्यूनतम मापदण्ड पूरा भए÷नभएको सम्बन्धमा अनुगमन गर्ने काम भइरहेको प्रजिअ नेपालले जानकारी दिए ।

त्यस्तै होटल र रेष्टुरेन्ट बन्द गरिएको  छ । कोरोना सङ्क्रमितको उपचार र सुरक्षा तथा निगरानीमा जोड दिइएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । छिमेकी जिल्ला बारा र पर्सामा कोरोना सङ्क्रमित अत्यधिक फेला परेपछि मकवानपुरलाई जोगाउन बाहिर जिल्लाबाट आउन र जान निषेध गरिएको अनुमान छ । मकवानपुर जिल्लामा हालसम्म ५४ जनामा कोरोना सङ्क्रमण फेला परेको छ ।