काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार अलमलिएर गठबन्धन भित्र पनि अर्को गठबन्धन बनाउन लागेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही संसद्मा विशेष समितिको माग गरेको थिएँ, दलको तर्फबाट। त्यसको कारण, जुन ढंगले यसको अनुसन्धान भइरहेको थियो, अनुसन्धान गर्ने निकायकै बारेमा प्रश्न आए। अनेक कुराहरू आए। तर, यस विषयमा छानबिन हुन सकेन। छानबिन त सकिएको छैन तर हाम्रो उत्तर पनि अनुत्तरित नै भयो,’ उनले भने, ‘सरकार अलमलियो। सरकार गठबन्धनभित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो। सरकारमै सहभागी भएका दलहरूले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं। मोर्चा बनेको थाहा भयो। अब यो के होरु बुझ्न जरुरी भयो। त्यही गठबन्धनभित्रको दलका नेता देशमै नभएको बेलामा, सरकारमै सहभागी भएका दलहरू मिलेर मोर्चा बनाउनु, यसलाई अलि ध्यानमा राख्नुपर्छ।’
जनतालाई राहत दिने, मुलुकका महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुने भन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी भएका कारण अलमलिएको उनको बुझाइ थियो।
बजेटमा भइरहेको लछलफलहरूको औचित्य नै पुष्टि गर्न संसद्ले नसकेको उनले बताए। ‘आम नागरिकले महसुस गर्नेछन्, आम नागरिकले सुनेको छन् भन्दा नयाँ कुरा छैन,’ उनले भने।
Add Comment