अशक्त अवस्थामा पनि अपराधको गिरोह सम्हाल्ने पक्राउ

काठमाडौँ । गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शारीरिक अवस्थाले ध्यान तान्यो । दाँया हात नै नभएका अशक्त अभियुक्त रानाले ज्यान मार्ने जस्तो जघन्य अपराधिक घटनामा कुन भूमिका निभाए होलान् भन्ने सबैको चासोको विषय पनि बन्यो ।
दश दिनअघि मध्यरातमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरका घनश्याम खातीको घरमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी आक्रमण ग¥यो । आक्रमणबाट खातीका श्रीमती ६८ वर्षीया बेलीदेवी खातीको घटनास्थलमै मृत्यु भयो । आक्रमणबाट गम्भीर घाइते भएका वृद्ध घनश्यामको आइतबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खातीकै छिमेकी ५३ वर्षीय प्रकाश ऐरले बोक्सीको आरोप लगाउँदै रु चार लाख दिएर हत्या गर्ने योजना बुनेको प्रहरीले खुलासा गरेको छ । खातीको हत्या योजना बनाएका ऐरले कृष्णपुर नगरपालिका–२ का ४५ वर्षीय रबि रानाको गतिलो साथ पाए ।

योजनाअनुसार नै अशक्त रानाले मोटरसाइकलमा घटनापछि खातीका छोरा राजेश खातीलाई घरमा लैजानेदेखि आक्रमण गर्ने रविलाई घर पु¥याउनेसम्मको काम गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । रानाले मोटरसाइकलको एक्सलेटर नै बाँया हाततर्फ जडान गरेको पाइएको छ । “अशक्त भएपनि राना दक्षिणतर्फ नेपाल–भारत सीमानामा मलखाद, कुखुराका चल्ला अवैध नाकाबाट ल्याउने गिरोहमा समेत सक्रिय रहेछ ।” उनले भने । “राना त्यो क्षेत्रको तस्कर नै रहेको पाइयो ।”

अभियुक्त राना सीमा क्षेत्रमा युवा समूहलाई तस्करीमा परिचालन गर्ने गरेको समेत प्रहरी भनाइ छ । “प्रहरीमै उजुरी नआएपनि गाउँमा त्यसको गतिविधि ठीक रहेनछ ।” प्रवक्ता थापाले भने,“खाती दम्पतीको हत्याको दोस्रो दिन हामीले दिनेश र खातीका छोरा राजेशलाई सोधपुछका लागि नियन्त्रणमा लिएका थियौँ ।”

घटना अनुसन्धानकै क्रममा राजेशको संलग्नता नदेखिएपछि रिहा भएका छन् । “दिनेश र होरीले घटनाका बेला राजेशलाई मादक पदार्थमा लठ्ठ बनाएर फकाएर राखेको देखिन्छ” प्रवक्ता थापाले भने । झण्डै दुई दशकअघि रानाले बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेको हात गुमाएको एक स्थानीयले बताए । “यहाँ अवैध नाकाबाट तस्करी गर्न थालेको वर्षौं भइसकेको थियो ।” स्थानीयले भने –तस्करी हुँदै आज गाउँमै जघन्य अपराधमा समेत सामेल भएछ ।”