प्रेम गरेकै कारण दलितहरू मारिएका छन् उनिहरुले न्याय कहिले पाउने : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अहिले प्रेम गरेकै कारण दलितहरू मारिने र जेल जानुपर्ने अवस्था रहेको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै सांसद पन्तले सप्तरीमा गैरदलितसँग प्रेम गरेकै कारण दलित युवक जेल जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद पन्तले सदनलाई जानकारी दिएअनुसार, सप्तरीमा गैरदलितसँग प्रेम र भागी विवाह गरेकै कारण २१ वर्षीय मनोजराम नाम गरेका दलित युवक अपहरण तथा शरीरबन्धक मुद्दामा जेल चलान भएका छन्।

कपिलवस्तुको अदालतमा विवाह भएको तर आफ्नी छोरी दलित युवकसँग विवाह गरेको कुरा मन नपराएका केटीकी बाबुले वडाध्यक्षसँग मिलेमतोमा नक्कली जन्मदर्ता बनाएर केटीलाई नाबालिग बनाएर केटालाई जेल हालिएको उनले बताए।

विवाह गर्ने केटालाई मात्र नभइ नेपाल प्रहरीका कार्यरत उनका दाजुलाई समेत अपहरण तथा शरीर बन्धकमा पोलेर जेल चलान गरेको सांसद पन्तले बताए। ‘त्यो मुद्दा सप्तरीको अदालतले त्यसरी थुनामा पठाउनुभन्दा कपिलवस्तुको अदालतमा के फैसला भएको छ भनेर हेर्न पर्छ कि पर्दैन रु,’ उनले प्रश्न गरे।

पन्तले गैरदलितसँग प्रेम गरेकै कारण भेरी नदीमा बहनेहरू लगायत वर्षेनी थुप्रै दलितहरूले सजाय भोग्नुपरेको विषयमा सरकारको ध्यान जानुपर्ने बताए।

‘दलितले समान अधिकार कहिले पाउने रु त्रेतायुगमा रामहरूले ठोक्ने, कलियुगमा हरामहरूले ठोक्ने त्यो युगदेखि यो युगसम्म दलितहरू पीडितका पीडित, मारिएको मारियै हुने ? दमनमा परेका परै गर्ने ? यस्ता विषयहरूमा सरकारको ध्यान जाओस्,’ उनले भने।

ठूला राजनीतिक दलले समाज रूपान्तरणका लागि काम नगरेका कारण दलितमाथि त्रेतायुगदेखिको दमन अहिलेसम्म जारी रहेको उनले बताए।