काठमाडौं । आईसीसी एकसदिवसीय विश्वकप छनोटको पहिलो खेलमै चोटग्रस्त बनेका नेपाली बलर सोमपाल कामीको स्थानमा किशोर महतोलाई राख्न नेपालले गरेको प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सोमबार स्वीकृत गरेको छ ।
यतिबेलासम्म नेपाल टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ ।
३ असारमा जिम्बाव्वेसँगको पहिलो खेलको ३४औं ओभरमा बलिङ गर्ने क्रममा जिम्बाव्वेका ब्याटर सिन विलियम्सको प्रहार सोमपालको दायाँ हातमा लागेको थियो ।
त्यसपछि उनले ५ असारमा अमेरिकासँगको जित, ७ असारमा वेष्ट इण्डिजसँगको हार तथा ९ असारमा नेदरल्याण्ड्ससँगको हारका क्रममा टिमबाट खेल्न सकेनन् ।
उनको अनुपस्थितिमा टिममा ल्याइएका ललित राजवंशीले तीनै खेल खेलेका थिए ।
समूह एबाट शीर्ष तीनभित्र पर्न असफल भएपछि नेपाल विश्वकप छनोटको अर्को चरण खेल्न नपाउने भयो ।
अब नेपालले सातौं र नवौं स्थानको प्लेअफ खेल खेल्नेछ । सो खेलका लागि किशोर महतोलाई टिममा राख्न पाइनेछ ।
ईसीसीको प्रतियोगिता प्राविधिक समितिले सोमबार गरेको निर्णयअनुसार जिम्बाव्वेका क्लिभ मडान्डेको स्थानमा याशा मायाभोलाई टिममा राख्न अनुमति दिइएको छ ।
Add Comment