एमाले र रास्वपाद्धारा संसद अवरोध

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेको छ।

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा गाभ्ने तयारी गरेको भन्दै दुई पार्टीले विरोध जनााएको हो।

संसद सुरू भएपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको र त्रुटि सच्याउन माग गरेका हुन्।

उक्त निर्णय फिर्ता गरी त्रुटिलाई सच्याउन माग गर्दै रास्वपाले उभिएर संसद अवरूद्ध गरेको छ।

यस्तै नेकपा एमालेले पनि यस विषयमा विरोध जनाएको हो। एमाले सां‌सद सूर्य थापाले यसलाई सच्याउनुपर्ने भन्दै विरोध जनाएका छन्। उनीहरूले सभामुखले नै रूलिङ गर्नुपर्ने माग गरेका हुन्।

यसविषयमा रास्वपाका सचेतक परियारले सोमबार पनि विरोध गरेको थिए।

‘जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालअन्तर्गत् राख्ने व्यवस्था गरियो। सभामुखमार्फत् लोतकन्त्रमाथि भएको यो षड्यन्त्रको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्छ। यो राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो। यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन। स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडिओ कार्यालयमार्फत् राख्नु यो राजनीतिक कुचेष्टा हो। र, यसले लोकतन्त्रलाई बलियो बनाउँदैन भन्ने हाम्रो ठम्याइ छ,’ उनले भनेका थिए।

मंगलबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बोल्ने कार्यसूची पनि छ।

जिल्ला निर्वाचन कार्यालय सिडिओमा गाभ्दा जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्ने रास्वपाको बुझाइ छ।
त्यतिमात्र होइन, उसले स्वतन्त्र रूपमा जन्मिएका पार्टीहरूलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउन षड्यन्त्रको रूपमा यसलाई लिएको छ।