काठमाडौं । किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाहीलाई दोषी ठहर गर्दै विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ ।
विशेष अदालतको फैसला अनुसार प्रबन्धक शाहीलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाका प्रबन्धक रहेका शाहीसमेतका कर्मचारीले किर्ते कागजातको आधारमा किर्ते धितो मूल्यांकन गरी कर्जा प्रवाह गरेको अभियोजन सहित मुद्दा दर्ता गरिएको थियो।
यसबाट सरकारी सम्पत्तिको नोक्सानी भएको ठहरसहित अख्तियारले मुद्दा चलाएको भएपनि अदालतबाट आंशिक ठहर हुने गरि फैसला भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढलाई ऋण लगानी गर्दा बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण प्रवाह गरेको अभियोगमा २०७७ जेठ २७ गते शाही पक्राउ परेका थिए ।
विशेषका अध्यक्ष शालिग्राम पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासबाट कसुर बमोजिमको सजाय निर्धारण भएको हो । विशेषको इजलासले १ असारमै कसुर कायम गरे पनि तीन वर्षभन्दा बढी सजाय हुने कसुर ठहरिएको भन्दै सजाय निर्धारणका लागि आइतबारको पेसी राखिएको थियो।
सोही इजलासले शाहीसँगै रिजवान अहमद जसगढलाई पनि सो मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । उनलाई एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ। यस मुद्दामा अभियोजन दर्ता भएका अन्य ६ प्रतिवादीले भने सफाइ पाएका छन्।
शाहीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप थियो । शाही, जसगढसहितको ८ जनामाथि मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप लगाइएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र अहमदसमेत ८ जनालाई प्रतिवादी कायम गरी १४ पुस २०७७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर गरेको अढाइ वर्षपछि अदालतबाट फैसला आएको हो।
Add Comment