विश्वकप छनोट : आज सुपर सिक्सका खेल सुरु हुँदै

काठमाडौं स् आईसीसी विश्वकप छनोट क्रिकेटमा सुपरसिक्स अन्तर्गतका खेल आज सुरु हुँदैछन्। सुपरसिक्समा परेका टोलीबीचको प्रतिस्पर्धाबाट शीर्ष स्थानमा रहन सफल हुने दुई टोलीले आगामी विश्वकपमा स्थान बनाउने छन्।

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुँदैछ। जिम्बावेमा जारी छनोट खेलमा आज समूह ए को विजेता जिम्बावे र समूह बीमा तेस्रो बनेको ओमानबीच प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोलीबीचको खेल बुलावायो मैदानमा नेपाली समयअनुसार दिउँसो पौने एक बजे सुरु हुँदैछ।

दुवै टोली विश्वकप छनोटको लक्ष्यसहित मैदान उत्रिँदैछन्। समूह ए को विजेता जिम्बावेले चारवटै खेल जितेर समूह विजेता बन्दा उसले पराजित गरेका दुई टोली सपुर सिक्समा परेका छन् भने दुई टोली बाहिरिएका छन्।

जसअनुसार जिम्बावेलाई आगामी यात्राका लागि ४ अंकको साथ रहनेछ। समूह बीको ओमानले दुई खेल जितेर सुपर सिक्समा स्थान बनाएको हो।

उसले पराजित गरेका दुवै टोली सुपरसिक्समा नपर्दा उ आगामी यात्राका लागि अंकविहीन छ। त्यसैले उसले आजको खेलमा जिम्बावेलाई पराजित गरी विश्वकप छनोटको यात्रा बलियो बनाउन चाहन्छ।

सुपरसिक्समा नपरेका टोली नेपाल, अमेरिका, आयरल्याण्ड र युएईले भने प्लेअफका खेल खेल्दैछन्। सातौँदेखि १०औँ स्थानका लागि हुने प्रतियोगित भोलि सुरु हुँदैछ। जसमा नेपालको पहिलो प्रतिद्वन्द्वी युएई छ।