मन्दिरका मूल पुजारीले गरे महिला दर्शनार्थीहरूमाथि यौन दुर्व्यवहार

काठमाडौं । पाल्पाको भैरवस्थान मन्दिरका मूल पुजारीले महिला दर्शनार्थीहरूमाथि तथा किशोरीहरूमाथि यौनजन्य हिंसा हुने गरेको पाइएको छ।

रिव्दीकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको यो मन्दिरका मुख्य पुजारी जितनाथ योगीले दर्शनका लागि आउने किशोर उमेरदेखिकै महिलामाथि यौनजन्य दुर्व्यवहार गरेको पाइएको हो।

दर्शन गर्न आएका महिला तथा किशोरीलाई टीका लगाइदिने र प्रसाद दिने बहानामा ७० वर्षीय पुजारी योगीले उनीहरूको छातीमा हातले छुने गरेको पाएको छ।

योगीले मन्दिरभित्रबाट प्रसाद दिने बहानामा आफ्नो हातले महिला दर्शनार्थीको स्तन छुने, औंलाले थिच्ने गरेको पीडितहरूले बताएका छन्।

‘ती पुजारीले टोकरी दिँदा उनको हातले मेरो स्तनमा छोइयो। सुरूमा त मलाई झुक्किएर छोइएको होला जस्तो लागेको थियो,’ पीडित भैरवी-१ ले भनिन्, ‘पछि मेरा साथी र बहिनीहरू टीका लगाएको हेरेँ। उनीहरूलाई पनि पुजारीले त्यस्तै गरे। उनले हात तन्काई तन्काई महिलाहरूको स्तन छुने रहेछन्।’

रूपन्देहीबाट पुगेकी २१ वर्षीया भैरवी-१ का अनुसार भैरवबाबाको मुख्य मन्दिर प्रवेश गरेर पूजा र दर्शन गर्न पाइँदैन। मन्दिरबाहिरका देवीदेवतालाई भने दर्शनार्थी आफैंले फूलभेटी चढाएर पूजा गर्छन्। मुख्य मन्दिरमा दर्शनार्थीले लगेको रोट र भेटी पुजारीमार्फत भैरवबाबालाई चढाइन्छ।

मुख्य पुजारी योगीले मन्दिरमा चढाएर प्रसाद फिर्ता दिने बहानामा आफ्ना हातले महिलाको छातीमा छुने गरेको उनले बताइन्।

पुजारीले दुई हातले टोकरी दिँदा दर्शनार्थीले पनि दुई हातले समाउँछन्। त्यहाँ ठाउँ साँघुरो छ। धेरै पर बस्न मिल्दैन। भित्रपट्टि बसेका पुजारीले लम्किएर टोकरी दिन्छन्। त्यही क्रममा उनले महिलाको छातीमा हात तन्काएर समेत छोएको भिडिओमा समेत प्रस्ट देखिन्छ।

‘त्यो दिन हामीले एकछिन बसेर पुजारीको हर्कत हेर्‍यौं,’पीडितले भनिन्, ‘उनले टोकरी दिने सबैलाई त्यसै गर्दा रहेछन्।’

मन्दिरबाट दर्शन गरेर बाहिरिएका केही महिला र युवतीलाई यसबारे आफूले सोधेको पनि भैरवी-१ ले बताइन्। उनीहरू सबैजसोले मूल पुजारी योगीले आफूहरूको छाती छोएको बताए। पुरूष साथीहरूको समूहमा गएका महिलाहरूले पनि पुजारीले आफूहरूलाई त्यसैगरी छोएको बताए।

‘पवित्र आस्था र विश्वास बोकेर मन्दिर जाने महिलाहरूमाथि पुजारीले नै यौनजन्य हिंसा गरिरहेका छन्,’भैरवी-१ ले भनिन्, ‘हामी तत्काल प्रतिवाद गर्न चाहन्थ्यौं। तर त्यो बेला हामीसँग कुनै प्रमाण थिएन। मन्दिरजस्तो ठाउँमा पुजारीलाई के भन्ने होला भनेर डर पनि लाग्यो। हाम्रो कुरा मन्दिर व्यवस्थापन समिति र त्यहाँ भएका अरू दर्शनार्थीले विश्वास नगर्लान् भन्ने भयो।’

उनीहरू नौ जनाको समूहमा गएका थिए। मन्दिरमा प्रसादको टोकरी चढाएका पाँचै जनालाई पुजारीले त्यसैगरी छातीमा छुने र औंलाले थिच्ने गरेका थिए। त्यसपछि यस्तो विषयमा चुपचाप बस्न नहुने भन्दै भैरवी-२ र पीडितहरूले यसबारे सार्वजनिक गरेका हुन्।

हामीले यसबारेमा मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीलाई सोध्यौं।

मंगलबार हामीले कुरा गर्दा बुढाथोकीले महिलाहरूले हालसम्म कुनै निकायमा उजुरी नदिएको र आफूलाई जानकारी नभएकाले त्यस बारे बुझ्ने बताएका थिए।

बुधबार बिहानै उनले मन्दिर गएर पुजारीको गतिविधि नियाले। शंका लागेपछि उनले मन्दिर परिसरमा रहेको सिसिटिभी क्यामरा खुसुक्क पुजारीले प्रसादको टोकरी फिर्ता दिने ढोकातर्फको दृश्य देखिने गरी फर्काए।

क्यामरामा आफूले कल्पनै नगरेको दृश्य देखेर झस्किएको बुढाथोकीले बताए।

‘पुजारी योगीले महिलाहरूको छाती छुँदै र धक्का दिँदै टोकरी फिर्ता दिएको देखियो। यति ठूलो आस्थाको धरोहर मन्दिरभित्र मुख्य पुजारीबाटै महिलाहरूमाथि हिंसा भइरहेको रहेछ। मन्दिर व्यवस्थापन समितिबाट उनलाई कारबाही हुन्छ,’ व्यवस्थापक बुढाथोकीले भने।

उनले थपे, ‘यो महिलाहरूको आत्मसम्मान र सुरक्षाको विषयको कुरा हो। एक जना पुजारीका कारण मन्दिरप्रतिको आस्था र विश्वासमा आँच आउन पनि दिनु हुँदैन।’

७० वर्षीय योगीबाट महिलाहरूमाथि यस्तो हिंसा भइरहेको होला भनेर आफूले कल्पनै नगरेको उनले बताए। योगी २०५९ सालमा दाङबाट भैरवस्थान मन्दिरको पुजारी भएर गएका थिए।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यस विषयमा हालसम्म प्रशासनमा कुनै उजुरी नपरेको बताए।

भैरवस्थान मन्दिर पाल्पाका तत्कालीन सेनवंशीय राजा मणिमुकुन्द सेन प्रथमले १५६५ सालमा भैरवबाबा उत्पत्ति भएको स्थानमा निर्माण गरेको इतिहास छ।

पछि तत्कालीन प्रधानसेनापति खड्ग शमशेरले यहाँ पित्तलको त्रिशुल राखिदिएका थिए। यो त्रिशुल एसियाकै सबभन्दा ठूलो रहेको दावी गरिन्छ। यहाँ एक माना वा एक पाथी चामलको पिठोबाट बनाइएको एउटै रोटी ‘रोट’ चढाउने चलन पनि छ। यहाँ देशभरका र भारतीय समेत गरी दैनिक सयौं धार्मिक पर्यटकहरू पुग्छन्।