पशुपतिनाथको जलहरी पुनर्स्थापना गरियो

काठमाडौं । पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी पुनर्स्थापित गरिएको छ।

सुनको परिमाणमा गडबडी भएको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगकका कर्मचारी जलहरीको तौल नाप्न आइतबार पशुपति पुगेका थिए।

सोमबार बिहान २ बजे निकालिएको जलहरी बुधबार साँझ ६ बजेबाट पुनर्स्थापित गर्न सुरू गरिएको थियो भने ११ घन्टा लगाएर पुनर्स्थापित गरिएको हो ।

सुनको जलहरी हाल्नकै लागि बुधबार दिउँसैदेखि भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो। मन्दिरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। पशुपतिमा नियमित आरतीबाहेक अरू पूजाअर्चना पनि भएको थिएन।

‘पहिले राखेझैं गरेर मिलाएर राख्न कालिगढहरूलाई समय लाग्यो। हिजो साँझ ६ बजेबाट राख्न सुरू गरिएको भए पनि आज बिहान ५ बजेमात्रै काम सकियो,’ पशुपति क्षेत्र विकास कोषका एक पदाधिकारीले भने।

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।

गर्भगृहबाट सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो।

यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ।