रकम हिनामिना गरी सम्पर्कविहीन सहकारी सञ्चालक पक्राउ

काठमाडौं । सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना पारेर सम्पर्कविहीन भएका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ।

बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त बनाएर घर्ती सम्पर्कविहीन भएका थिए।

उनीविरूद्ध सहकारीका बचतकर्ताहरूले लिखित उजुरी दिएपछि रूपन्देही प्रहरीले खोजी गर्न थालेको थियो। खोजी गर्दै जाँदा मंगलबार भैरहवाबाट उनलाई पक्राउ गरिएको डिएसपी श्यामु अर्यालले जानकारी दिए।

उनीविरूद्ध बचतकर्ताहरूले प्रहरी कार्यालयमा लिखित उजुरी दिएका छन्। डिएसपी अर्यालका अनुसार उनीविरूद्ध ५० जना भन्दा बढीले उजुरी दिएका छन्। त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यसअघि देशका विभिन्न ४३ वटा जिल्लाहरूमा सेवा केन्द्रमार्फत् बचतकर्ताहरूबाट रकम संकलन गर्दै आएका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मालाई केन्‍द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

लामो समय भारतको मुम्बईबाट एक जना भारतीयको घरमा लुकेर बसेका शर्मा नेपाल आएको बेला सोमबार नेपालगञ्ज-१५ बाट पक्राउ गरेको थियो।

देशभरका सेवा केन्द्र मार्फत बचतकर्ताहरूबाट संकलन गरिएको १२ अर्ब बढी रकम हिनामिना गरी शर्मा सम्पर्कबिहीन भएका थिए। शर्मा सम्पर्कबिहीन भएपछि शिवशिखर सहकारी, तुलसी सहकारी र उनले लगानी गरेको अर्थन्युज एचडी टेलिभिजन समेत बन्द भएको छ।

भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर र तुलसी बहुमुखी सहकारी संस्थामा देशभरका १ लाख ८९ हजार ८ सय ७९ जनाले बचत संकलन गरेका थिए।

शिवशिखर सहकारीमा १ लाख ६८ हजार ७२५ जनाले बचत तथा मुद्दती मार्फत १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५८६ र तुलसी बहुमुखी सहकारीमा २१ हजार १५४ जनाले १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ जम्मा गरेका थिए।

बचतकर्ताहरूले जम्मा गरेको उक्त रकम शर्माले प्रचलित सहकारी ऐन र नियमावली विपरित आफू र आफू नजिकका व्यक्तिहरूको नाममा रहेका विभिन्न ४३ वटा कम्पनीमा लगानी गरी सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ।

दुइटै सहकारीको बचत रकम हिनामिना गर्ने कार्यका मुख्य नाइके नै शर्मा भएको अनुसन्धानमा खुलेपछि उनीविरूद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको प्रहरीले जनाएको छ।

शर्माले बचतकर्ताहरूले सहकारीमा जम्मा गरेको ८ अर्ब भन्दा बढी रुपैयाँ विदेश लगेको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शर्माले शिवशिखर र तुलसी सहकारी संस्थाका बचतकर्ताहरूको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको र त्योमध्ये ८ अर्बभन्दा बढी रकम विदेश लगेको पाइएको प्रहरीले बताएको छ।

शिवशिखर सहकारीले देशका विभिन्न ३० स्थानमा ग्रिन मार्टको नामबाट डिपार्टमेन्टल स्टोर्सहरू सञ्चालन गरेको थियो।

बुटवलको योगीकुटीमा पनि शिवशिखरले सेवा केन्द्र सँगै ग्रिन मार्ट सञ्चालन गरेको थियो। तर गएको मंसिर महिनामा सहकारीका बचतकर्ताहरूको सानो-सानो रकम समेत भुक्तानी नदिएपछि बचतकर्ताहरूले सहकारी समस्यामा परेको संकेत पाएका थिए।