अन्तत: ढल्यो कोशी प्रदेश सरकार, जति प्रयास गर्दा पनि मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

काठमाडौं । नेकपा एमाले नेतृत्व कोशी प्रदेश सरकार ढलेको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएका हुन् ।

मतदानमा सहभागी ८९ प्रदेश सांसदमध्ये मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत मात्रै परेको हो । उक्त मत ९३ सदस्यीय प्रदेशसभामा बहुमत नभएकाले मुख्यमन्त्री कार्कीको प्रस्ताव अस्विकृत भएको सभामुखले घोषणा गरेका हुन् । विश्वासको मतको लागि ४७ सांसदको मत आवश्यक पर्दछ ।

कार्कीको पक्षमा एमाले र राप्रपा उभिँदा विपक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रहेको थियो । जनता समाजवादी पार्टी नेपाल तटस्थ रह्यो । मतदानमा जनता समाजवादी पार्टीकी प्रदेश सांसद निर्मला लिम्बूका साथै प्रतिपक्षी दलका थप दुई गरी तीन जना प्रदेश सांसद अनुपस्थित रहे ।

हाल एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको ९सभामुख सहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।

कार्की नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा २०७९ सालको २४ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माओवादीले सरकार छाडेपछि उनी अल्पमतमा परेका थिए । प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा मुख्यमन्त्रीले पद गुमाउने संवैधानिक व्यवस्था छ ।