प्रहरीमाथि नै खुकुरी प्रहार

काठमाडौँ । हेटौंडा उपमहानगरपालिका–६ गौरीटारमा विवाद मिलाउन गएका प्रहरीमाथि नै खुकुरी प्रहार भएको छ । सोमबार राति घरायसी विवाद मिलाउन गएका प्रहरी चौकी चौघडाका असई डम्बरबहादुर केसीमाथि खुकुरी प्रहार भएको हो ।

घरायसी विवादको खबर पाएपछि त्यस क्षेत्रमा पुगेका असई केसीमाथि गौरीटारमा २५ वर्षीय भक्तराम राउतले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

खुकुरी प्रहारबाट असई केसीको हातमा गहिरो चोट लागेको र उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछी थप उपचारका लागि भरतपुर रिफर गरिएको डिएसपी रानाले बताए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। डिएसपी रानासहित वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।