हिक्मतकुमार नेतृत्वको सरकार ढलेपछि कोशीमा नयाँ सरकार बनाउन पाँच दिनको म्याद

काठमाडौं । कोशी प्रदेशमा कुनै पनि गठबन्धनसँग स्पष्ट बहुमत नहुँदा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारले केहि दिन अघि विश्वासको मत लिन नसकेर  ढलेको थियो । जसका कारण कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर दाबी पेश गर्न दलहरुलाई औपचारिक आह्वान गरेका छन् ।

प्रदेश प्रमुखका तर्फबाट प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा २ वा ३ बमोजिम मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नका लागि दलहरुलाई दाबी पेश गर्न भनेका छन् । विज्ञप्तिमा आगामी असार २१ गते अपरान्ह ५ बजेसम्ममा दाबी पेश गरिसक्न भनिएको छ ।

यस धारामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्यको आवश्यकता पर्छ । तर, एमाले–राप्रपा गठबन्धनसँग ४६ सांसद छन् भने काँग्रेस–माओवादी गठबन्धनसँग पनि सोही संख्यामा सांसद रहेका छन् । जसका कारण सरकार गठन प्रक्रिया पेचिलो हुने देखिएको छ ।