तीन दलका शीर्ष नेतासँग छलफल गर्दै सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन दलका शीर्ष नेतासँग छलफल गर्दैछन्।

सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन्।

‘सभामुखज्यूले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो,’ सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने, ‘समितिका सभापति नहुँदा कामकारबाही गर्न नै असजिलो भएको छ। आज बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ पनि सहभागी हुने तय भएको छ।’

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरू भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाइका हुन्।