३८ जिल्लामा निषेधाज्ञा, कुन ठाउँमा के सेवा पाइने ?

काठमाडौँ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले गत चैत ११ गतेदेखि लागू हुने गरी देशैभर लकडाउन गर्‍यो। ६ साउन मध्यरातबाट लागू हुने गरेर लकडाउन हटाइयो।

त्यसयता संक्रमितको संख्या फेरि बढ्न थालेको छ। हिजो मंगलबारसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

हाल आइसोलेसनमा १० हजार ५६३ छन्। अहिलेसम्म १७ हजार ५८० निको भइसकेका छन्। मंगलबार बेलुकासम्म ११५ जनाको मृत्यु भइसकेको छ।

मंगलबारमात्रै नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १६ जना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा मात्रै २०५ संक्रमित थपिएका छन्।

संक्रमण बढ्न थालेपछि फेरि लकडाउनकै शैलीमा यातायात तथा मानिसको आवतजावतमा कडाइ गर्न थालिएको छ। देशैभर लकडाउन गरिएको छैन, तर विभिन्न स्थानमा बढ्दै गइरहेको संक्रमितको संख्याका आधारमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले नै निर्णय गरिरहेका छन्।

जिल्लास्तरमा निषेधाज्ञा र लकडाउनसम्मका निर्णय भएका छन्। सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेकै दोस्रो दिन काठमाडौं उपत्यकाका तीन जिल्लाले बुधबार मध्यरातदेखि लागू हुने गरेर निषेधाज्ञाको निर्णय गरेका छन्।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाका बाहेक अन्य गतिविधिमा बन्देज लगाइएको छ। त्यसैगरी लकडाउनको समयमा जस्तै आमनागरिकलाई घरबाहिर निस्कन बन्देज लगाइएको छ।

अत्यावश्यक सेवा, सुरक्षा निकाय र खाद्यान्न बाहेकका सवारी साधनलाई उपत्यका प्रवेशमा निषेध गरिएको छ। निषेधाज्ञाको समयमा पनि खाद्यवस्तु ढुवानी गर्ने गाडी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तरकारी, दूध, विद्युत्, दूरसञ्चार, फलफूल, सञ्चार माध्यमलगायतका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ।

मंगलबारदेखि नै लागू हुने गरेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ। सङ्क्रमण फैलिन नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा जारी गरेको हो। त्यस्तै मंगलबार रातिदेखि लागू हुनेगरी कास्की जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ। भदौ ७ गते राति १२ बजेसम्मका लागी कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो।

स्थानीय प्रशासन तथा स्थानीय तहले आवश्यकताको आधारमा ३८ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा लागू गरेको गृह मन्त्रालयले जनाएको छ। मुलुकभर कोभिड–१९ को फैलन थालेसँगै स्थानीय प्रशासन तथा स्थानीय तहले पूर्ण तथा आंशिक लकडाउन गरेका हुन्।

गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव प्रेमलाल लामिछानेले निषेधाज्ञा, लकडाउन, सिल, सेवा बन्द लगायतका निर्णय विभिन्न जिल्लामा भएको बताए।

‘कतै पूर्ण रुपमा छ त कतै आंशिक गरिएको छ,’ उनले भने, ‘स्थानीय स्तरमा आफ्नो हिसाबले निर्णय गरेका छन्।’ कोभिड–१९ संक्रमण जोखिमको संवदेनशिलता हेरेर विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आदेश जारी गरेको उनले बताए।

पूरै निषेधाज्ञा जारी भएका जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, सप्तरी, धनुषा, नुवाकोट, बाँके, पर्सा, बारा, सुनसरी, महोत्तरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी पश्चिम, गोरखा र अर्घाखाँची छन्। त्यस्तै, सिरहाका सबै स्थानीय तहमा लकडाउन गरिएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका, तिला, हिमा, सिंजा, कन्कासुन्दरी, गुठीचौर र तातोपानी गाउँपालिकामा अर्को निर्णय नभएसम्म निषेधाज्ञा जारी गरिएको छ।

मोरङमा विराटनगर महानगरपालिका, सुन्दरहरैचा, सुनवर्षी, बेलबारी, केराबारी र रतुवामाई नगरपालिका क्षेत्रमा स्थानीय तहकै निर्णयमा लकडाउन गरिएको छ।

दार्चुलाको मार्मा गाउँपालिमा पनि अर्को निर्णय नभएसम्म लकडाउन गरिएको छ।

झापाको विर्तामोड नगरपालिका, मेचीनगर र शिवसताक्षी नगरपालिकामा पनि लकडाउन गरिएको छ। मकवानपुरको हेटौडा उपमहानगर क्षेत्र, मनहरीको केही भाग र थाहा नगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाइएको छ।

धादिङको निलकण्ठ नगरपालिका–३ मा निषेधाज्ञा छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

धनकुटाको धनकुटा नगरपालिका १, ३, ४, ५, ६ र ७ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको छ। तनहुँको देवघाट ५ र व्यास र भानु नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारि गरिएको छ।

उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा पनि ७ भदौसम्म निषेधाज्ञा जारी गरिएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा ५ भदौसम्म निषेधाज्ञा लगाइएको छ।

पाल्पामा २९ साउनदेखि अर्को निर्णय नभएसम्म तानसेन नगरपालिकाको विभिन्न क्षेत्र सिल गरिएको छ। रामेछापको रामेछाप नगरपालिका क्षेत्र सिल गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका क्षेत्र र माडी क्षेत्रमा ५ भदौसम्म निषेधाज्ञा लगाइएको छ। बाग्लुङको बडीगाड नगरपालिका र बाग्लुङ नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी छ।

लमजुङको सुन्दरबजार नगरपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडा क्षेत्रमा ३० साउनदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी छ।

‘सबै जिल्लाहरुमा एकै नासको हुँदैन, त्यहाँको जोखिमको स्तर हेरेर नै निषेध, बन्द गर्ने भन्ने निर्णय हुन्छ,’ गृहका सूचना अधिकारी लामिछानेले भने, ‘स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर केके सुचारु गर्ने भन्ने विषय जिल्लाले नै निर्धारण गर्ने कुरा हो।’

संक्रामक रोग निवारण ऐन २०२० को दफा २ कार्यान्वयन गर्न नेपाल सरकार मन्त्रीपरिषद् बैठकले प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरेको उनले बताए।

त्यस्तै स्थानीय प्रशासन ऐन २०२८ ले प्रमुख जिल्ला अधिकारीलाई उक्त ऐनको परीक्षण गर्ने अधिकारसमेत दिएको भन्दै उनले दुवै ऐनका आधारमा जिल्ला स्तरमा नै कुन ठाउँमा के गर्दा संक्रमण रोक्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ, जोखिम कम गर्न सकिन्छ भन्ने विषयमा स्थानीय सरकार, प्रदेशसँग समन्वय गरेर निर्णय गर्न सक्ने बताए।