महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध

काठमाडौं । वर्षाका कारण पहिरो खसेपछि दार्चुलाको महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ ।

सडक माथिबाट पहिरो खसेपछि मङ्गलवार आज बिहानदेखि यो सडकको पनेबाजदेखि ऐरिछानासम्मको खण्ड अवरुद्ध भएको हो ।

हिलोसहित ढुङ्गा खसेपछि सडक अवरुद्ध हुँदा गाडी सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार यो सडक खण्डको विभिन्न ठाउँमा पहिरो थुप्रिएको छ । सडक अवरुद्ध भएपछि जिल्लाबाट बाहिरिने र भित्रिने गाडी बाटोमै रोकिएका छन् ।

पटक–पटक पहिरोका कारण अवरुद्ध हुने यो लोकमार्गमा छोटो दूरीका गाडी समेत सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नु परेको छ ।

बिहानैदेखि डिभिजन सडक बैतडी पाटनले पहिरो हटाउने प्रयास गरिरहेको भए पनि अवरुद्ध लोकमार्ग खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।