पहिरोका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरूद्ध

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण पाल्पाका विभिन्न सडक अवरूद्ध भएका छन्। सडकमा पहिरो र लेदो झर्दा आवतजावत समेत अवरूद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडकखण्डको चिदिपानी धैरेनीमा लेदो र गेग्रान सहितको पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

धैरेनी क्षेत्रमा डिभिजन सडक कार्यालय पाल्पाको डोजर पुगे पनि लगातारको वर्षाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। धैरेनी क्षेत्रमा सोमबार रातिदेखि नै सडक अवरूद्ध छ।

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डको गौंडेपुलमा खसेको पहिरो पन्छाउने काम भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाले बताए।

निरन्तर पहिरो झरिरहने बुटवल तानसेन सडकखण्डको हिउँदे खोला, पानी मिल, बर्तुङ, आर्यभञ्ज्याङ लगायतका क्षेत्रमा स्काभेटर, लोडर, जेसिबी सहितको जनशक्ति परिचालन गरिएको निरौलाले बताए।

यस्तै, राम्दीदेखी रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्र पनि अवरूद्ध भएको छ। उक्त सडकखण्डको सेरामा लेदो र गेग्रानले सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ। करिडोरकै हुंगी क्षेत्रमा सर्दीखोलाको कारण सडक अवरूद्ध भएको छ। पाल्पाकै जव्कादीदेखी बेलडाँडा सडकको सिलुवामा खसेको पहिरोबाट केही दिनदेखि सडक अवरूद्ध छ।

पूर्वखोलाको हेक्लाङ, रम्भाको फोक्सिङकोट सडकमा पनि पहिरो झरी केही दिनदेखि आवतजावत बन्द भएको प्रहरी चौकी ताहुँले जनाएको छ।