पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौँ । नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धका २० हजार भायल एचपीभी खोप आइपुगेको छ । सरकारले प्राप्त गरेको २० हजार भायल एचपीभी खोप पाइलट प्रोजेक्टका रूपमा प्रयोग गरिने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।

ह्युमन प्यापिलोमा भाइरसबाट बचाउनका लागि एचपीभी खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दुई मात्र दिइने प्रमुख डा. चौरासियाले बताए । ‘सरकारले सुरुवाती समयमा पाइलट प्रोजेक्टका रूपमा एचपीभी खोप दिनेछ,’ उनले भने, ‘आज आएको खोप कुन प्रदेश अन्तरगतका कुन जिल्लालाई खोप दिने भन्ने विषयमा निर्क्योलका लागि विभागबाट स्वास्थ्य मन्त्रालयमा फाइल गइसकेको छ । कहाँका कति किशोरीलाई खोप दिइने बारे छलफल हुँदै छ होला ।’ एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्ने अध्ययनहरूले देखाएको छ ।