बस दुर्घटना हुँदा २९ जनाको मृत्यु, १९ घाइते

काठमाडौं । मेक्सिकोमा भएको बस दुर्घटनामा कम्तिमा २९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति बस सडकबाट ८० फिटको खोँचमा खसेर भएको दुर्घटनामा एक वर्षीय बालकसहित २९ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो।

ओक्साका सरकारका महासचिव जेसस रोमेरो लोपेजले म्याग्डालेना पेनास्को गाउँ नजिकै उक्त दुर्घटना भएको बताए। मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।

दुर्घटनाको अनुसन्धान सुरु भइसकेको जिसस रोमेरोले बताए । प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

अल जजिराका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो। यो दुर्घटना भएको सहर पहाडी क्षेत्रमा अवस्थित छ । यहाँ घुमाउरो सडक र गहिरो खाल्डाहरू छन्।

सिभिल प्रोटेक्सनको उद्धार टोलीले घाइतेलाई नजिकैको गाउँमा लग्यो। यहाँबाट घाइतेलाई सरकारी अस्पताल लगिएको छ । नागरिक सुरक्षा निकायका अनुसार ६ जना गम्भिर घाईते भएका र घाइतेहरूलाई अस्पताल लैजाँदा बेहोस अवस्थामा थिए । बस हटाउन क्रेनको सहायता लिइएको थियो ।