पहिरोले पोखरा–बाग्लुङ राजमार्गको कृषि सडक खण्ड पाँच दिनदेखि अवरुद्ध

काठमाडौं । बाग्लुङ बसपार्कदेखि जामुनाबोट–मेथलाङ हुँदै नौडाँडा जोड्ने कृषि सडक खण्ड पाँच दिनदेखि अवरुद्ध भएको छ । पोखरा महानगरपालिका–१८ गैरीस्वारा भिरमा गएको पहिरोेका कारण यो सडक खण्ड असार १७ गते रातिदेखि अवरुद्ध भएको हो ।

गैरीस्वाराको जङ्गलबाट ठूलो चट्टानसहित खसेको पहिरोेले लगभग एक सय मिटर सडक ढाकेको पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

‘सडक पूरै चट्टानले ढाकेको छ, पन्छाउँदा माथिल्लो क्षेत्रमा चर्केको अवस्थामा रहेको जङ्गलसहितको भाग खस्ने उच्च जोखिम छु, उनले भने महानगरका मेयर धनराज आचार्यसहितको प्राविधिक टोलीले स्थलगत अध्ययनपछि सडक सञ्चालन गर्ने प्रयास शुरु गरिने छ ।’

पोखरा महानगरपालिकाको क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको पोखरा–बाग्लुङ राजमार्गको नौडाँडा जोड्ने करिब २० किलोमिटर दूरीको कृषि सडक एकतर्फी नालासहित कालोपत्र भइरहेको छ । यो सडक अवरुद्ध भएसँगै पधेँली–खड्का थर कच्ची बाटोबाट गाडी सञ्चालन भइरहेको बताउँदै उनले भने ‘वर्षाका कारण कमजोर अवस्थाको यो साँघुरो सडक जोखिमपूर्ण रहेको छ ।’

लामो समयसम्म पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसक्दा स्थानीय उत्पादनको बिक्री वितरणका लागि पोखरा बजारसम्म आवतजावतमा समस्या परेको स्थानीय बासिन्दाले बताएका छन् । त्यही राति चङ्खपुरको समरखुमा गएको पहिरोका कारण अवरुद्ध भएको लेकसाइड–पामे–घाटीछिना सडक महानगरका प्राविधिकसहित आवश्यक उपकरण प्रयोग गरेर सञ्चालनमा ल्याइएको वडाअध्यक्ष तिमिल्सिनाले बताए ।