कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचान पक्षधरको बृहत् प्रदर्शन

काठमाडौं । प्रदेशको नाम कोशी राखिएको विरोधमा शनिबार ओखलढुंगा सदरमुकाममा बृहत् प्रदर्शन गरिएको छ ।

विभिन्न जातीय संस्थाहरुको संयुक्त आयोजनामा सहभागीहरुले मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनसँगै किरात राई यायोक्खाका जिल्ला अध्यक्ष थगेन्द्रराज राईको संयोजकत्वमा १ सय ५१ सदस्यीय संयुक्त संघर्ष समितिसमेत घोषणा गरिएको छ ।

संघर्ष समितिले कोशी प्रदेशको नाम पहिचानको आधारमा पुन: नामाकरणको नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

करिब २ सय मोटरसाइकल सहित प्रदर्शनीमा उत्रिएका युवाहरुले टाउकोमा ‘नो कोशी’ को कालो फेटा र सेतो टिर्सटमा पहिचानका लागि युवा लेखिएको टिसर्ट लगाएका थिए । प्रदर्शनपश्चात् ताराहाङ राईको नेतृत्वमा गठित युवा दस्तालाई परेडसमेत गराइएको थियो ।

विरोध कार्यक्रममा पहिचानवादी नेताहरु गोपाल किराती, आङकाजी शेर्पा, गोविन्द छन्त्याललगायतले सम्बोधन गरेका थिए ।