एसइईको पूरक परीक्षा साउन अन्तिममा हुने

काठमाडौं । एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ।

ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ।

परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ।

ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सक्नेछन्।

साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम गराउन आवेदन दिन सक्नेछन् ।

सोका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सक्नेछन्। सोकोलागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरुलाई बोर्डले भनेको छ।

गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा यही असार २१ गते सार्वजनिक गरिएको थियो। त्यसमा २२ हजार चार सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए।