कोशीका मुख्यमन्त्री थापा विरुद्ध रिटको पेसी न्यायाधीश माथेमाको इजलासमा

काठमाडौँ ।  कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध रिटको पेसी सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ ।

कोशी प्रदेशमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको भन्दै एमालेले त्यसविरुद्ध रिट दायर गरेको थियो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिटमा एमालेले सो प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।