संसद्को अवरोध खुलाउन शीर्ष नेताहरू आज पनि छलफलमा

काठमाडौं । संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका छन् ।

संसद् बैठकअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको हो।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइएको आशयसहितको विवादास्पद अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी एमालेसहितले संसद्‍मा अवरोध गरिरहेका छन्।

प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। तर, प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् बैठक स्थगित भएको थियो ।