प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो,स्पष्टीकरणको मौका दिनु पर्दैन : प्रधानमन्त्री

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीहरूले राजीनामा मागेकोमा असन्तुष्टि प्रकट गरेका छन् । उनले प्रतिपक्षी दलहरूको हर्कत संसदीय अभ्यास र मान्यताविपरीत रहेको बताए ।

संसदमा आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नका विषयमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा आफ्नो असन्तुष्टि राखेका हुन् । उनले पहिलेदेखि नै आफूले यो विषयमा स्पष्टीकरण दिन खोज्दा नपाएको बताए ।

‘मैले आफ्नो कमजोरी सहज र स्पष्ट शब्दमा स्वीकार्ने गरेको छु,’ प्रचण्डले भने, ‘तर मेरो राजीनामा मागेर ३ दिनसम्म संसद अवरुद्ध गर्नु जायज हो ?’

उनले थपे, ‘प्रतिपक्षले माग्नासाथै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ? स्पष्टीकरणको मौका पनि दिनु नहुने हो ?’

उनले यो आफ्नो प्रतिवाद नभएर प्रश्न मात्रै रहेको बताए ।