सरकारमा सहभागी हुने कुनै योजना छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको प्रष्ट्याएका छन् ।

बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उनले अहिले पार्टी विस्तार लगायत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रित रहेको बताए ।

सरकारमा सहभागी हुने योजना छैन । पार्टीभित्र पनि कुनै छलफल भएको छैन । तर, सरकारको स्थायित्वको पक्षमा भने रास्वपा छ’, उनले भने ।

पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षीनिकट भनेर आरोप लाग्ने गरेको रविले बताए । अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सबै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उनको भनाइ छ ।

रविले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दाबी रहेको पनि बताएका छन् ।