पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौँ । वीरगंजमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ बस्ने ६२ वर्षीय पुरुष र बारा जिल्लाको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो ।

निमोनियाले ग्रसित पुरुषको स्वास्थ्य अवस्था खराब भएपछि भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । दिन प्रतिदिन स्वास्थ्य अवस्था खराब हुँदै भदौ १० गते साँझ ६स्२२ बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा। अतुलेश चौरसियाले जानकारी दिए ।

कोरोनाको लक्षण रहेको उक्त पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकमा रेफर गर्न खोजिएको थियो त्यही क्रममा उनको मृत्यु भएको थियो । उनीमा कोरोना संक्रमण पुष्टि भएपछि आफन्तले अस्पतालमै छाडेर गएका थिए ।

यसैगरी अर्का मृतक बारा जिल्लाको सुवर्ण गाउपालिका – ४ हर्दियाकी २३ वर्षीया संक्रमित गर्भवती महिलाको मृत्यु भएको हो । ३३ हप्ताको बच्चा पेटमा रहेको उक्त महिलाको उपचारको क्रममा मृत्यु भएको सुचना अधिकारी डा। चौरसियाले जानकारी दिए ।
स्वास्थ्य अवस्था खराब भई भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी ति महिलालाई सास फेर्न समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भई रहेको थियो । २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार नभई भदौ ११ गते बिहीबार बिहान ६ बजे मृत्यु भएको डा। चौरसियाले बताए ।

मृतक महिला र पुरुषसँगै वीरगञ्जमा मृत्यु हुनको संख्या ४४ पुगेको छ । मृतक ४४ जनामध्ये पर्साका ३२ जना, बाराका १० जना तथा रौतहटका २ जना रहेका छन ।