प्रहरीको यातनाबाट एक युवाको मृत्यु

काठमाडौँ । प्रहरीले हिरासतमा यातना दिएको कारण एक जनाको मृत्यु भएको छ । गत साउन ३१ गते जिल्लाको गरुडा नगरपालिका ८ जिंगडियामा घाँटी रेटेर हत्या गरिएका नन्दलाल महराको २० वर्षीय छोरा निरन्जन रामको हत्याराको रुपमा सार्वजनिक गरेका ७ जना अभियुक्तमध्येका एक विजय महराको उपचारको क्रममा आज बिहान १ बजे मृत्युभएको हो ।

उनलाई हिरासतमा रहदा प्रहरीले चरम यातना दिएका कारण मृत्यु भएको स्थानीय अगुवा करिमुल्लाहले आरोप लगाए । अपराध कबुलाउने धुनमा प्रहरीले हिरासतमै चरम यातना दिएकाले उनको मृत्युभएको हो, उनले भने । आजसम्म कुनै ठुलो रोग नलागेका उनलाई अचानक सबै रोग देखिनु र शरीरका अंगहरुले काम गर्न छाड्नुको कारण प्रहरीले दिएको अमानवीय यातानाको कारणले भएको उनको दावी छ ।

नेशसन मेडिकल कलेज श्रोतले न्यूज २४ लाई दिएको जानकारी अनुसार प्रहरीले बाँस, लठ्ठी, हातखुट्टाले जथाभावी प्रहार गरेको कारण महराको छाती, पेट, किड्नी लगायतका प्रमुख अंगहरुका गम्भीर चोट लागेको थियो । त्यहीँ चोटको कारण उनमा पिसाबमा रगत देखिएको थियो भने सानो आन्द्रा तथा ठुलो आन्द्रामा लागेको चोटको कारण उनलाई पखाला लागेको अनि दिशापनि रगत गइरहेको थियो ।

स्रोतका अनुसार इन्फेक्सनका कारण उनको किड्नीमा दवाव परि किड्नीले काम गर्न छाडेपछि उनलाई २ पटक सम्म डाइलोसिस गरिएको थियो । तर चोटको कारणले उनको शरीरमा इन्फेक्सन बढेको , फोक्सो सुन्निएको तथा सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । सो मेडिकल कलेजमा आइसियुमा राखेर उपचार गरिरहेको उनको आज अचानक शरीरका प्रमुख अंगहरुले काम गर्न छाडेपछि उनलाई भेन्टिलेटरमा राखिएर उपचार गर्दागर्दै मृत्यु भएको हो ।

यता, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञान कुमार महत्तोले भने आफुहरुले मृतकलाई कुनैपनि किसिमको यातना नदिएको र यातनाको आरोप निराधार भएको बताए ।